द सिनेमा टाइम्स, काठमाडौं । बडादसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट उत्साहजनक साथ पाएको छ। सोमवार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ।
वितरकहरूका अनुसार सिनेमाले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि आक्रामक व्यापार गरेको छ। प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ‘बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए। उनले उपत्यका बाहिरको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्। काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले पनि देशका पछिल्ला घटनाक्रममा बाबजुद चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘बलिदान’ले महत्त्वपूर्ण भूमिका खेलेको जनाए।
देशको विषम परिस्थितिबीच रिलिज भए पनि चलचित्रको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक सन्तोष सेनले बताए। उनले व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन्।
अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा, र निर्देशक सेन लगायत चलचित्र युनिटले हप्ताभर काठमाडौंका हलहरूमा दर्शक भेटेका थिए। दर्शकको साथबाट हर्षित भएका अभिनेता भट्टले आफ्नो लामो समयको मेहनतलाई दर्शकले प्रेम गर्दा खुसी लागेको बताए। दर्शकहरूले भट्टको अभिनय र एक्सन दुवैलाई दमदार भन्दै कतिपयले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरेका छन्।
चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको अनुभव गरेको बताएका छन्। धेरै दर्शकलाई चलचित्रभरि रहेको आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ, जसले गर्दा धेरैको आँखामा आँसु आएको थियो। कतिपय दर्शकले चलचित्रले अहिलेको देशको यथार्थपरक परिस्थितिलाई पर्दामा उतारेको अनुभव सुनाएका छन्।
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।


प्रतिक्रिया