‘जारी २ : सङ अफ च्याब्रुङ’ले ‘जारी’को सफल बक्सअफिसको विगत फर्काउने अपेक्षा

‘जारी २ : सङ अफ च्याब्रुङ’ले ‘जारी’को सफल बक्सअफिसको विगत फर्काउने अपेक्षा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा उद्योगकै सर्वाधिक रुचाइएको जोडी दयाहाङ राई र मिरुना मगर अब फेरि दर्शक माझ आउँदै छन् । जुन सिनेमाले दयाहाङ र मिरुनाको जोडी बाँधिदिएको थियो, त्यही सिनेमाको सिक्वेलमार्फत उनीहरू आउन लागेका छन् ।

‘जारी’मार्फत दयाहाङ र मिरुनाको सिने जोडी बाँधिएको थियो । ‘जारी’ पहिला छायांकन भए पनि ‘कबड्डी’ भने मिरुनाको पहिला रिलिज भएको थियो । रिजिका हिसाबले ‘कबड्डी’ पहिलो भए पनि यो जोडीले सहकार्य गरेको पहिलो सिनेमा भने ‘जारी’ नै हो ।

दर्र्शकले औधी रुचाएको र बक्सअफिसमा पनि सुपर हिट भएको यो जोडी ‘जारी २ : सङ अफ च्याब्रुङ’ लिएर कार्तिक २१ गते आउँदैछ ।

कवि तथा सिनेमा राइटर समेत रहेका उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ हलमा आउँदा दयाहाङ राई र मिरुनाको जोडी अभिनयमा उत्तिकै सशक्त देखिने र बक्सअफिसमा ‘जारी’लाई उछिन्नेमा निर्माण टोली विश्वस्थ छ ।

‘जारी’ले नेपाली बक्स अफिसमा मात्रै १७ करोडभन्दा माथि ग्रस कलेक्सन गर्दै वर्षकै सर्वाधिक कमाइ गर्ने सिनेमाको रकेर्ड आफ्नो नाममा राखेको थियो । त्यो सुखद् रेकर्ड यो वर्ष पनि आफ्नो पोल्टामा पार्ने निर्माण टिमको अपेक्षा छ ।

यो वर्ष हालसम्म आइपुग्दा १० करोडको हाराहारीभन्दा माथि कलेक्सन गर्ने चलचित्र धेरै नरहेको र दसैँमा समेत ठूलो उत्साहजनक कमाइ बक्सअफिसमा सोचेजस्तो नदेखिएकाले वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड ‘जारी २ : सङ अफ च्याब्रुङ’को पोल्टामा जाने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

नेपाली सिने बजारले रुचाएका कलाकार, सफल निर्देशकको निर्देशन, नेपाली दर्शकले रुचाएका सिनेमाका लेखकले लेखेको सिनेमा, अनुभवी निर्माता र चलेका ब्यानर रहेकाले पनि ‘जारी २ : सङ अफ च्याब्रुङ’लाई आफ्नो पुरानो विगत फर्काउन असहज छैन ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ तथा मधु मिजार र जीवन गुरुङ छन् ।

सिनेमामा दयाहाङ र मिरुनासँगै विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।