द सिनेमा टाइम्स, काठमाडौं । काभ्रेको बनेपामा निर्माणा सुरु भएको चलचित्र छायांकाको इनडोर स्टुडियोका लागि सरकारले चलचित्र विकास बोर्डलाई तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
बनेपामा सिनेमा छायांकनको सुविधा सम्पन्न अत्याधुनिक इनडोर स्टुडियो ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रुपैयाँको अनुदान बजेट दिने निश्चत भएको चलचित्र विकास बोर्डले जनाएको छ ।
शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालय र बोर्डबीच यस विषयमा सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
‘बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भनेका छन्, ‘शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डको वीच सम्झौता हस्ताक्षर र पत्र आदान प्रदान कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो ।’
कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूसहित बोर्डका अधिकृतद्वय प्रभाकर भट्टराई र गिरिश शर्मा पनि उपस्थित थिए ।
४२ रोपनी क्षेत्रफलमा बन्न लागेको इनडोर स्टुडियोको ठेक्का स्वीकृत भइसकेको छ ।
स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस-एनएस- रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले पाएको छ । स्टुडियो ५ करोड ३६ लाख बजेटमा बन्नेछ ।
वैैशाख ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्टुडियो निर्माण कार्य सुरु गरेको उद्घोष गरेका थिए ।
बोर्डले यो स्टुडियो बनेसँगै नेपाली चलचित्रको छायांकनमा ठूलो सहयोग पुग्ने बताउँदै आएको छ ।


प्रतिक्रिया