२० वर्षभन्दा बढी योगदान दिने १७८ चलचित्रकर्मीले पाए पेसागत परिचयपत्र

२० वर्षभन्दा बढी योगदान दिने १७८ चलचित्रकर्मीले पाए पेसागत परिचयपत्र

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले  विशेष कार्यक्रमका बीच १७८ जना सिनेमाकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २० वर्षभन्दा लामो समयदेखि स्वदेशी सिनेमा क्षेत्रमा सक्रिय रहँदै आएका ती सिनेमाकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो।

कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए ।

यसअघि ३० वर्षभन्दा बढी समय सिनेमा क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट सिनेमाकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो । बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट सिनेमाकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य सिनेमाकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले सिनेमाकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए । उनले भने सिनेमाकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ ।

यस अवसरमा सिनेमा क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।