द सिनेमा टाइम्स, काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार पहिलो दिन नै राम्रो अकुपेन्सीमा रहेको सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सिनेमाको सिनेमाटोग्राफी र इमोस्नल कथाको दर्शकले तारिफ गरिरहेका छन् । अनमोलसहितको कलाकारको टिम दर्शकको प्रतिक्रिया लिन हलमा पुगिरहेको छ । अनमोल हलमा पुगेपछि उनलाई दर्शकले घेरिरहेका छन् । विशेषगरी युवा पुस्ताका दर्शकले उनलाई घेरिरहेका छन् । युवतीहरू अनमोलसँग सेल्फी खिच्न हतार गरिरहेको दृश्य हरेक हलमा देखिइरहेको छ ।
अनमोलको अभिनयको पनि तारिफ भइरहेको छ । इमोसन, सिनेमाको सिन र अभिनय राम्रो भन्दै दर्शकले तारिफ गरिरहेका छन् । दर्शकले अनमोलले यो सिनेमाबाट अवार्ड नै पाउनुपर्ने बताइरहेका छन् ।
यता, अनमोलले यसलाई दर्शकको माया भनेका छन् । ‘यो दर्शकले मलाई गरिदिनु भएको माया हो । मैले हरेक सिनेमामा आफूलाई अभिनयमा इनक्रिज गर्ने प्रयास गरिरहेको हुन्छु,’ उनले भने, ‘यसमा पनि केही कमजोरी भए होला, तर यसलाई पनि हटाउने प्रयास आगामी दिनमा गर्नेछु ।’
डेढ वर्षको ग्यापमा आउँदा पनि दर्शकले दिएको मायाप्रति उनी आफू ऋणि रहेको बताएका छन् । ‘डेढ वर्षको ग्याप पछि आउँदा पनि मलाइ दर्शकले माया गरिदिनुभयो, यो म प्रतिको माया हो,’ उनले भने, ‘हरेक राम्रो काम गर्नका लागि समय चाहिन्छ । यो सिनेमाका लागि आफूले लामो समय दिएको छु, फाइनल्ली मन पराइदिनुभयो ।’
शुुक्रबार चाबहिलको केएल टावर पुग्दा अधिकांश शेर्पा समुदायका दर्शकसँग अनमोलले साक्षात्कार गरेका थिए । त्यहाँ शोलु घर भएर काठमाडौंमा बसोबास गरिरहेका शेर्पा समुदायका दर्शक पुगेका थिए ।
उनीहरूले आफ्नो गाउँ र सगरमाथा हेर्न आएको बताएका थिए । पछिल्लो दिनका शोका टिकटहरू अघिल्लो दिन नै बिक्री भइसकेको भन्दै अनमोलले दर्शकप्रति आभार प्रकट गरिरहेका छन् । आँचल शर्मा र जसिता गुरुङको पनि दर्शकले तारिफ गरिरहेका छन् ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।
अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।


प्रतिक्रिया