‘सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा

‘सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भाइटिकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली सिनेमा ‘सोल्टिनी’ हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार-प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै सिनेमाको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन् ।

सिनेमाका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ सिनेमा मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्यक्रम’मा सहभागी भई वातावरणलाई उल्लासमय बनाएको थियो ।

कलाकारहरू र स्थानीयवासीले देउसी खेल्दै रमाइलो गरे भने, सो अवसरमा लिम्बू सिनेमाकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो। यससँगै, सोही टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाउँदै सिनेमाको प्रचार गरेको छ।

सोमबार सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ, जहाँ कलाकारहरू पुगिसकेका छन् । कार्यक्रमपश्चात् टोली मङ्गलवार पोखरा र बुधवार काठमाडौंमा हुने देउसी भैलो कार्यक्रममा सहभागी हुँदै सिनेमाको प्रमोसन यात्रा जारी राख्नेछ।

यसबिच, २ घण्टा २५ मिनेट ३३ सेकेन्ड लामो सिनेमा ‘सोल्टिनी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको अर्थ, यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने परिवारमैत्री सिनेमा भन्ने हो।

अर्जुन सुवेदीले निर्देशन गरेको ‘सोल्टिनी’ एक अन्तरजातीय प्रेमकथामा आधारित सिनेमा हो, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ ।

सिनेमामा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु छन् । उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ।