शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो परान, प्रिमियर शोमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो परान, प्रिमियर शोमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक १४ गते आज शुक्रबारबाट हास्य कलाकार दीपक प्रसाद आचार्य (काकु)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’ देशव्यापी प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो बिहीबार राजधानीमा आयोजित प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । जसको प्रभाव आजबाट सिनेमा घरमा देखिने विश्वास निर्माण टिमको छ ।

बरिष्ठ अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक सिनेमा ‘परान’ले देशभर उत्साहजनक शोसहित प्रर्दशनमा आएको हो । यो सिनेमाले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजीत प्रिमियरमा ‘परान’ हेरेपछि उपस्थित पाहुना भावुक देखिए ।

वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दिपक आचार्यको डेब्यु उत्कृष्ट भएको बताए । उनले यो सिनेमाले देखाएको कथा हरेक गाउँको समस्या भएकाले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महशुस हुनसक्ने भन्दै सबैलाई सिनेमा हेर्न आग्रह गरेका थिए ।

हाल प्रदर्शनरत सिनेमा ‘जेरी अनटप’का निर्देशक सुयोग गुरुङले ‘परान’ छुटाउनै नहुने सिनेमा बनेको प्रतिक्रिया दिए । हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँखामा आँशु आउछन् थाहा नै नहुने भन्दै आफ्नो पनि आँशु खसेको बताए । अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै प्रिमियरमा उपस्थित अधिकांशले निर्माताद्धय शेखर गोल्छा र रन्जित आचार्यलाई निर्माणमा प्रवेशसँगै उत्कृष्ट सिनेमा दिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

सिनेमाले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन् । यही अन्तरद्वन्द्वलाई सिनेमाले भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।

सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।