द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् कार्तिक २१ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ निर्माण टिम यतिवेला प्रचारमा व्यस्त छ । विशेषगरी सिनेमाका निर्देशक उपेन्द्र सुब्बा प्रचारको अग्रभागमा देखिएका छन् ।
यो सिनेमाको केही दिन अगाडी सार्वजनिक ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेको छ । ट्रेलरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । ‘जारी २’ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई सिनेमाको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
सिनेमाका मुख्य कलाकार दयाहाङ र मिरुनासहित विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ । ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ । तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ ।
यो समाचार पार्दै गर्दासम्म जारी २ सङ अफ च्याब्रुङको ट्रेलरले ६ टिमा २२ लाख बढि भ्युज, ३५ हजार लाईक र १ हजार दुई सय बढि प्रतिक्रिया पाएको छ । जसमा अधिकांश प्रतिक्रिया प्रशंसामा खर्चिएको देख्न सकिन्छ ।
मेला र पर्वको रमाइलो र च्याब्रुङको तालसँगै लयमा सम्हालिएर अगाडि बढेको ट्रेलरले दर्शकको मन पनि जित्दै गइरहेको छ । जब सानो कुराले श्रीमान् र श्रीमती अर्थात् दयाहाङ र मिरुनाबीच खटपट सुरु हुन्छ अनि सुरु हुन्छ ट्रेलरमा द्वन्द्व । माइतीपक्षले छोरी र चेलीले उसको घरमा इज्जत नपाएको थाहा पाएपछि लिन जान्छ । दुईतिरको समाज बस्छ ।
माइतीले दिएको र बजाउन सिकाइदिएको च्याब्रुङ च्यातिएसँगै दिनदशा सुरु हुन्छ । सशुराली खलकले लेखेटेको रिस श्रीमानले श्रीमतीमाथि पोखेपछि ऊ माइती जान्छे । बालख छोरीले आमा खोज्छे, बाउले छोरालाई बुहारी लिन जान दबाब दिन्छन् । एक्लोपनको महसुस गर्न थालेको छोरो अर्थात् दयाहाङको अनुहारमा पश्चातापको भारी देखिन्छ । तर, मुखले ब्यक्त गर्दैन् ।
यता, विजय बरालकी श्रीमती पनि माइत गएपछि घर फर्किन मान्दिनन् । तर ससुरालीले जिउको बदला जिउ भन्दै नयाँ दुलही अन्माइदिन्छ । तर, दुलहीको एउटा आँखा हुँदैन् । त्यसको पिरमा विजयको तनाव देखिन्छ । त्यही बेला घर छोडेर माइत बसेकी मिरुनालाई नयाँ प्रस्ताव आउँछ । ज्वाइँ लिन आएनन्, लाउरेले मन पराएको छ, जारी तिर्न सक्ने हो भने बाटो खुला छ ।
अथवा ‘जारी २’ भयो लाहुरेको इन्ट्री । तर, लाहुरे को हो ट्रेलरले सस्पेन्स राखिएको छ । यता, मेलामा दयाहाङलाई पनि सोल्टिनीसँग देखिन्छ । साथीले सोध्छ, बिहे गर्ने हो ? दयाहाङले के भने सस्पेन्स छोडेको छ ट्रेलरले । लिम्बु संस्कृतिभित्र रहेर वैवाहिक जीवनको उतारचढाव देखाएको ट्रेलरले सिनेमालाई प्रतिक्षित बनाएको छ ।
यस हिसाबले यो सिनेमा दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।


प्रतिक्रिया