अशोक दर्जीको ‘मन बिनाको धन’लाई यूनिभर्सल सर्टिफिकेट

अशोक दर्जीको ‘मन बिनाको धन’लाई यूनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कात्तिक २१ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमालाई सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सरका अधिकांश कर्मचारीले अशोक दर्जीको बिषयबस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ राम्रो बनेको भन्दै खुलेरै तारिफ गरेका थिए ।

सिनेमाको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र दर्शकले मन पराउने बिश्वास रहेको डेव्यु निर्देशक टंक बुढाथोकीले बताए । सिनेमाको ट्रेलरलाई युट्युबमा १० लाख बढी पटक हेरिसकिएको छ । सिनेमाले प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद् ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।

सिनेमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

बाटोमा गीत गाउँदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका थिए । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यो सिनेमामा सामाजिक विषयवस्तु प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’को कथा आफैले लेखेका हुन् । शिवम् अधिकारीको पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा सपना शर्मा तथा सह–निर्मातामा जीपी संग्रौला, विवेक नेपाल र बिजया पाण्डे अनि क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी छन् ।

टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्देशक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । आजै यो सिनेमामा समावेश प्रमोद खरेल र शिव परियारको स्वरमा यो धनले बोलको गीत समेत सार्वजनिक गरिएको छ ।