बसन्त निरौलाको निर्देशनमा निर्माण हुने ‘पाँच पाण्डव’को शुभमुहूर्त

बसन्त निरौलाको निर्देशनमा निर्माण हुने ‘पाँच पाण्डव’को शुभमुहूर्त

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंस्थित गणेशथान मन्दिरमा यो सिनेमाको शुभमुहूर्त गरिएको हो ।

यो सिनेमाको शुभमुहूर्तमा अधिकांश कलाकार पुगेका थिए । सिनेमामा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) को अभिनय रहनेछ । यी कलाकार नै सिनेमाका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

यो सिनेमा नाम अनुसार धार्मिक नभएर सोसल ड्रामा जनरा हुने निर्माणपक्षले प्रष्ट पारेको छ । ‘पाँच पाण्डव’ हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । सोही कथालाई सिनेमामा जोडिएको अनुमान लगाउन सकिन्छ । सिनेमामा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को-को हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो सिनेमामा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? आमा कुन्ती को हो ? निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् । सिनेमाका अन्य कलाकारहरू फाइनल हुन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो सिनेमाको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने सिनेमाको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्य रुचाइएका अग्रज कलाकार रहेकाले सिनेमाको निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।

‘हाम्रो सिनेमामा कलाकारको राम्रो लाइनअप तपाईहरूले देखि नै सक्नुभयो । हामी सिनेमा पनि दर्शकले रुचाउने बनाउने छौं’, उनले भने, ‘हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक सिनेमा बनाउने छौं ।’ गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका नवीनले यो सिनेमाको छायांकन केही महिना भित्र सुरु गरिनेछ । सिनेमाको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त छन् ।