दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘परान’को शो थपिँदै

दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘परान’को शो थपिँदै

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गते शुक्रबारबाट देशव्यापी रिलिज हुँदा केवल ६४ शो पाएको सिनेमा ‘परान’ले बलियो ‘वर्ड अफ माउथ’ पाउँदा भोलि बुधबारका लागि सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ ।

पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ ।

खल्ती एपमा यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर कुल १ सय ३२ शो पाएको छ । उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।

हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ गरी कुल ४ वटा नेपाली सिनेमा प्रदर्शनरत छन् । खल्तीमा ‘मैझारो’ सिनेमाले यो समाचार तयारपार्दासम्म ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ ।

यस्तै, विदेशी भाषाका सिनेमाहरुले पाएको शो संख्या निकै कम  छ । रि-रिलिज ‘बाहुबली: द एपिक’ ४७ शो पाएको छ भने ‘थामा’ १३ र ‘कान्तारा: द लिजेण्ड च्याप्टर १’ ले ६ शो पाएको छ ।

दर्शक तथा समीक्षक दुवैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलले अन्य सिनेमाका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन् । सिनेमा हेर्नेहरुले उत्कृष्ट सिनेमा भन्दै सिनेमा हेरेर आफूहरु भाबुक भएको प्रतिक्रिया दिइरहेका छन् ।

दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो ।