माघ २३ गते प्रदर्शन मिति घोषणा गर्दै ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक

माघ २३ गते प्रदर्शन मिति घोषणा गर्दै ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री आना शर्मा कार्यकारी निर्माता रहेको सिनेमा ‘रमिताको पिरती’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आगामी माघ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको हो ।

सुदिप्ताको निर्देशनमा निर्माण भएको यो सिनेमाबाट अभिनेत्री आना शर्माले सिनेमा निर्माणमा समेत पाइला चालेकी हुन् । निर्देशक सुदिप्ताको पनि यो डेव्यु निर्देशकिय सिनेमा हो । यो सिनेमामा अभिनेत्री शर्मा नै मुख्य भूमिका छिन् । अभिनेताद्धय धिरज मगर र विनय श्रेष्ठसहित यो सिनेमाबाट गायक समीर श्रेष्ठले अभिनेताको रुपमा डेव्यु गर्दैछन् ।

महिला केन्द्रित सिनेमाको पोस्टरमा अभिनेत्री आना शर्मालाई विभिन्न लुक्स देख्न सकिन्छ । सिनेमामा उनी ‘रमी’को पात्र निवार्ह गरेकी छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन एसोसियट निर्माता तथा सागर लम्साल निर्माता हुन् ।

सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत, शिशिर विशांखेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कार्तिक बरालको कोरियोग्राफी छ । यो सिनेमालाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

सिनेमाको पोस्टर सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सिनेमाले केही फरक कथा बोकेको देखिएकाले सफलताको शुभकामना दिएका थिए । डेव्यु अभिनेता समीर श्रेष्ठले आफू यो सिनेमामा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि अभिनय गर्न तयार भएको सुनाए ।

यही सिनेमाबाट निर्माणमा समेत हात हालेकी अभिनेत्री आना शर्माले ४ वर्ष अगाडि नै यो कथा सुनेको र यसको कथावस्तु फरक लागेकाले अभिनयसँगै निर्माणमा पनि सहकार्य गरेको सुनाइन् । अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै उनले दर्शकलाई यो सिनेमाको कथावस्तु मनपर्ने दाबी गरिन् ।