‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनबाट सुरु

‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनबाट सुरु

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माइकल चन्दको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । करिब ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार ४० दिन चितवनमा र १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट यो सिनेमाको छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।

यो सिनेमा आगामी चैत्र २७ गते नयाँ वर्षको अवसरमा रिलिज गर्ने तयारी गरिएको छ । सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसीको अभिनय रहनेछ । राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको सिनेमामा विशेष भूमिका छ ।

उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको सिनेमामा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्माता हुन् । सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ ।

एक्सन, सस्पेन्स र प्रेमको जनरामा यो सिनेमा निर्माण गरिनेछ । डेव्यु निर्देशक माइकल चन्दले यो सिनेमालाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको सिनेमामा विदुषी थापाको प्रोडक्सन डिजाइन रहेको छ ।