द सिनेमा टाइम्स, काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत सिनेमा निर्माणमा जुट्ने भएका छन् ।
सागरको सिनेमा आगामी वैशाखपछि छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ ।
सिनेमा निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता सागर लम्साल ‘बले’ले भने, ‘सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि सिनेमामा पनि काम गरियो – सबै खाले अनुभव भयो । अनि कति लगानीमा राम्रो सिनेमा बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो । यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट सिनेमा निर्माण गर्ने तयारी गरेको हुँ ।’
बलेले यसलाई फरक धारको सिनेमा बनाउन आफू लागेको बताए । हाल सिनेमाको स्क्रिप्ट लेखन र प्रि-प्रोडक्सनका कामहरू भइरहेको छन् ।
पछिल्लो समय सागरको नेपाली सिनेमा क्षेत्रमा व्यस्तता निकै बढेको छ । हाल उनी ‘डल्लेले इन्ट्री मार्यो’ सिनेमाको छायांकनमा व्यस्त छन् ।
उक्त सिनेमाको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ सिनेमाको सेटमा जोडिने तयारीमा छन् । ‘पाँच पाण्डव’पछि पनि उनी दुई अन्य सिनेमामा अनुबन्धित भइसकेका छन् ।
सागर लम्साल हास्य टेलिसिरियल ‘भद्रगोल’मा निर्वाह गरेको ‘बले’ पात्रबाट प्रसिद्ध भएका हुन् । पछिल्लो समय उनी ‘सक्किगोनी’ हास्य टेलिश्रृंखलामा पनि सोही पात्रको रूपमा देखिएका थिए ।
त्यसका साथै उनी सिनेमा र सयौँ म्युजिक भिडियोहरूमा समेत सक्रिय रूपमा देखिँदै आएका छन् ।


प्रतिक्रिया