‘चलचित्र पत्रकार : इतिहासदेखि वर्तमानसम्म’ पुस्तक विमोचन, संघको कल्याणकारी कोषमा माग्ने बुढाको २५ हजार सहयोग

‘चलचित्र पत्रकार : इतिहासदेखि वर्तमानसम्म’ पुस्तक विमोचन, संघको कल्याणकारी कोषमा माग्ने बुढाको २५ हजार सहयोग

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र पत्रकार संघले नेपालमा चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार : इतिहासदेखि वर्तमानसम्म’ विमोचन गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डको सहयोगमा तयार गरिएको पुस्तक बोर्डको हलमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो ।

चलचित्र पत्रकार संघद्वारा प्रकाशित यो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय, विदुर गिरी, हास्य कलाकार केदार घिमिरे, साहित्यकार डाक्टर नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले विमोचन गरेका हुन् ।

बोर्डका अध्यक्ष डिसीले नेपाली सिनेमाको विकासक्रममा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेकाले चलचित्र पत्रकारितामा खोज पत्रकारिताले स्थान पाउनुपर्ने बताए । यो कार्यक्रममा चलचित्र पत्रकारितामा पत्रकारको खोजी विषयमा बोर्डका अध्यक्ष डिसी, कलाकार संघा अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, ध्रुव लम्साल र मदन रिजाल र संघका महासचिव रघुनाथ सापकोटाबीच अन्तरक्रिया समेत भएको थियो ।

यो छलफलमा चलचित्र पत्रकारले कुनै निश्चित सिनेमाको प्रचारक नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो ।

यही कार्यक्रममा चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए । संघले लामो समयदेखि आफ्ना सदस्यहरुको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ । यही अभियान अन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई सो रकम हस्तान्तरण गरेका हुन् ।