द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा ६ जना चर्चित नेपाली कमेडियनले हाँस्य प्रस्तुति दिने भएका छन् । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका : भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका हुन् ।
अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने पक्का भएको हो । ‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले बताए ।
डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको जानकारी फेम नेपालका प्रमुख बिमलकुमारले दिए । विभिन्न १५ सहरमा गर्ने भनिएपनि नाम र मिति यकिन हुन बाँकी छ । ‘यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्’ पछाईले भने, ‘अब सहर बुकिङ खुला भएको छ ।’
उनले आफ्नो सहरमा टूर आयोजना गर्न चाहने स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गरे । कमेडियन भरतमणीका अनुसार उनको टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्नेछ । टूरमा कलाकारले अहिले प्रसारण भैरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा निर्वाह गरेका कतिपय चरित्र प्रस्तुत गर्नेछन् ।
भरतमणी र सुमन कोइरालाले घरबेटी र माइकलको भूमिका गर्ने भएका छन् । कैलाशले भिकारी, सजनले स्ट्यान्ड अप, मेक्सम गौडेल र सुमन कार्कीले कुन चरित्र निर्वाह गर्ने तय हुन बाँकी छ । फेम नेपालले टेक्सासमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया