द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । जापानमा सिनेमाको वितरण अधिकार युएनए डिजिटलले खरिद गरेको हो ।
सिनेमाका निर्देशक शोभित बस्नेतले जापानमा सिनेमा बिक्रि भैइसकेको जानकारी दिए । उनले भने, ‘अहिले जापानका लागि यो सिनेमा राम्रो रकममा बिक्री गरिसकेका छौं । अन्य देशका सिनेमा वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौं ।’
निर्देशक बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ सिनेमाप्रतिको चासो उच्च देखिएको छ । ‘सिनेमामा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको निर्देशक बस्नेत बताउँछन् ।
सिनेमाको केही दिन अगाडी सार्वजनिक गीत ‘टाटा बाइ बाइ’ले सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ । गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेकाले टिकटकमा समेत यसको शब्द र धुनमा बनेका छोटा भिडियो व्यापक देख्न सकिन्छ ।
सिनेमामा नीर शाह, गौरी मल्ल, आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय छ । विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिने छन् ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता तथा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता अनि गणेश बुढाथोकीको लेखन रहेको सिनेमामा सम्पादन बन्दे प्रसाद र छायांकन सौरभ सायमी र सौरभ लामाको छ । आरआर फिल्मस्ले वितरण गर्ने यो सिनेमाको अष्ट्रेलियाका विभिन्न शहरमा विशेष शो गरिएको थियो ।



प्रतिक्रिया