द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘आ बाट आमा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा कथावस्तु झलक प्रस्तुत गरिएको हो ।
‘बाआमाले पसिनाले ‘घर’ बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनु पर्यो’ स्लोगन सिनेमाको पोस्टरमा राखिएको छ । यी शब्दले पनि आमाबुबा र छोराछोरीबीचको कथालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ । एउटा पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुशी देखिएका छन् । सोही ठाउमा साइग्रेस पोखरेल पनि खुशीमुन्द्रामा देखिन्छन् । त्यसपछि अर्को पोस्टरमा सवै भावुक छन् । श्रीमान्-श्रीमतीको भुमिकामा देखिएका विपना र प्रदीप अंगालोमा रोइरहँदा छोराको भुमिकामा पल शाह रगताम्य छन् ।
ग्रामीण परिवेशमा आधारित सिनेमाले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको छ । निर्देशक पन्तकै लेखनमा रहेको सिनेमाको प्रस्तुतकर्ता आर्या पन्त हुन् । यो सिनेमामा विपना, प्रदीप र पलसहित साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खन्ट्या खलास), दिलिप उखेडा, रचना गौतमको अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता तथा कार्यकारी निर्मातामा करण सिंह रसाली छन् । यो सिनेमामा नवराज उप्रेतीको डिओपी र कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत छ ।
यो सिनेमाको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्री समेत भइसकेको छ । सिनेमाको अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रालिले छायांकन नसकिँदै किनेको थियो ।


प्रतिक्रिया