द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट सिनेमा महोत्सव’मा नेपाली सिनेमा ‘यो मन त मेरो नेपाली हो’ले अवार्ड जितेको छ । विश्वभरबाट छानिएका १ सय १८ मध्येबाट यो सिनेमाले उत्कृष्ट कथानक सिनेमाको अवार्ड जितेको हो ।
सिनेमाका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिँदै नेपाली सिनेमा ‘यो मन त मेरो नेपाली हो’ले अमेरिकामा उत्कृष्ट कथानक सिनेमाको अवार्ड पाउनु नेपाली सिनेमाको लागि यो खुसीको कुरा भएको बताए । निर्देशक प्रधानले आफ्नो सिनेमाको कथा मन पराउनु भएकोमा सवै जुरिलाई धन्यवाद दिए ।
सिनेमा ‘यो मन त मेरो नेपाली हो’ले यसअघि बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल सिनेमा महोत्सव २०२५’मा उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो । यो सिनेमालाई सौरभ लामाले खिचेका हुन् । सिनेमामा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, बिजिता परियारको अभिनय छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमालाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको सिनेमाका लेखक शिवम् अधिकारी हुन् । यसमा देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिष शाहको सम्पादन तथा सत्यम रानाको सिजिआई रहेको छ ।


प्रतिक्रिया