माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘मिरमिरे’को पोस्टर सार्वजनिक

माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘मिरमिरे’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भैइरहेको सिनेमा ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा सिनेमाका मुख्य कलाकार प्रस्तुत छन् ।

सिनेमाको पहिलो पोस्टरमा दयाहाङ राई र बाल कलाकार शायसा गौचन तथा दोस्रो पोस्टरमा प्रकाश सपूत र सिर्जना निङ्लेखु फिचर्ड छन् । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा तयार पारिएको पहिलो पोस्टरमा दयाहाङ र शाइसा बाबु र छोरीको भूमिकामा छन् । उनीहरु केही तनावमा कसैको पखाई वा वियोगमा रहेजस्तो पोस्टरमा देखिन्छन् ।

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना विद्याथी र शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएको पोस्टरमा यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै भन्ने निर्माणपक्षले प्रष्ट पारेको छैन । उमेर हेर्दा प्रकाश सिर्जनाकै विद्यार्थी जस्तो देखिँदैनन् ।

यार्सा फिल्मस्को प्रस्तुतिमा निर्माण सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए ।

आगामी माघ १ गतेबाट ‘मिरमिरे’ देशव्यापी रिलिज हुँदैछ । सिनेमाको निर्देशनसँगै कथा पनि यम स्वयंले लेखेका हुन् । सिनेमाको छायांकन आलोक शुक्लाले गरेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह-निर्माता गोविन्द बोहरा, सुदिप कुँवर हुन् । वितरक रोहित कट्टेल कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।