द सिनेमा टाइम्स, काठमाडौं । भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको नेपाली सिनेमा ‘धागो’ आज शुक्रबारबाट नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आएको छ । उदिप राणा थापाको निर्देशनमा निर्माण भएको यो सिनेमाले नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।
सिनेमामा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई मार्मिक रूपमा चित्रण गर्छ । संघर्ष, विछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतार-चढावका बीच हल्का हास्यरस पनि समावेश गरिएकाले दर्शकलाई जोडेर राख्ने विशवास निर्माण टिमको छ ।
भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषीको बसोबास क्षेत्रमा ‘धागो’ रिलिज भएको छ । भारतका यी क्षेत्रहरूमा नेपाली सिनेमाको दर्शक वर्ग बलियो रहेकोले ‘धागो’ले उल्लेख्य व्यापार गर्ने अपेक्षा गरिएको छ । नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमा, आईएनआई सिनेमा लगायत देशभरका हलमा रिलिज भएको छ ।
सिनेमामा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिका निर्वाह गरेकी छन् । उनीसहित प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको पनि अभिनय छ । अभिनेत्री वर्षा राउत विशेष भूमिकामा देखिएकी छन् । सिनेमाको छायांकन निर्देशन बलिउडका अनिकेर एम घोघले गरेका हुन् ।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसद्वारा निर्माण गरिएको सिनेमामा उमा थापा, उत्तम थापा र उदिप थापा निर्माताको भूमिकामा छन् । नेपालमा आरआर फिल्मस्ले वितरण गरिरहेको छ ।


प्रतिक्रिया