द सिनेमा टाइम्स, काठमाडौं । नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता पाएको सिनेमा ‘ऊनको स्वीटर’ भारतमा रिलिज हुने भएको छ । आर्टमान्डूको ब्यानरमा निर्माण भएको यो सिनेमालाई भारतमा एसली प्रोडक्सनले रिलिज गर्ने जानकारी दिइएको हो ।
यो सिनेमा आगामी शुक्रबार अर्थात् नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानका सिनेमा हलमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए । केही समय अगाडी भारतको सिनेमा प्रमाणीकरण बोर्डबाट ‘ऊनको स्वीटर’ भारत रिलिजका लागि सेन्सर पास भएको छ ।
सिनेमाको भारत प्रिमियर रिलिजको १ दिन अघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ । उक्त प्रिमियर शोमा नेपालबाट अभिनेता विपिन कार्की र एलेक्स पारससहितका कलाकारहरू, गायक सुजन चापागाईं र निर्देशक नवीन चौहान लगायत सहभागी हुने जनाइएको छ । सोही क्षेत्रका नेपाली कलाकर्मीहरु तथा सिक्किमका राज्य तहका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।
गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भएको वर्षकै सफल सिनेमामध्येको एक बनेको थियो । नवीन चौहानको लेखन तथा निर्देशन निर्माण भएको सिनेमाले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने संगीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायत कलाकारको प्रभावकारी अभिनय रहेको छ । गीत सुजन चापागाईंले र संगीत कोविद बज्रले निर्देशन गरेका छन् ।
भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा राखिएको उल्लेख छ । नेपाली कथा वाचन र सांस्कृतिक भावनाले भरिएको यो सिनेमाले भारतका नेपाली भाषी क्षेत्रका दर्शक मात्र होइन, मौलिक कथा खोज्ने व्यापक भारतीय दर्शक समुदायलाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ ।


प्रतिक्रिया