द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक २१ गते शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । आज शुक्रबारबाट हप्तामा प्रवेश गरेको सिनेमाले आक्रामक व्यापारलाई निरन्तरता दिएको हो ।
यसैबीच शुक्रबार दिउँसो क्यूएफएक्सको वेबसाइटमा ‘जारी २’लाई सुपरहिट ट्याग दिइएको छ । यद्यपी, यो मान्यताले अन्य हलको प्रतिनिधित्व भने गर्दैन । क्युएफएक्स चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा उपेन्द्र सुब्बा निर्देशित सिनेमालाई ‘सुपरहिट’ ट्याग दिइएको टीम क्वेस्टले जनाएको छ ।
देशभर क्यूएफएक्सका १७ हल र ४० पर्दामा कुनै सिनेमाले पहिलो सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै सिनेमाले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्ड छ । हाम्रो हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने टिम क्वेस्टको भनाई छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।


प्रतिक्रिया