द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको लभस्टारी सिनेमा ‘कुमारी’को छायांकन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायांकन हिजो शनिवार औपचारिक रूपमा पूरा भएको हो । छायांकन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ । पोस्ट-प्रोडक्सनको काम मूल्यांकन गर्दै प्रदर्शन मिति घोषणा गरिने निर्देशक राउतले जानकारी दिए ।
यसअघि छायांकनको बीचमै नै सिनेमा ‘कुमारी’ चर्चामा रह्यो । यो सिनेमाको घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो । हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले दर्शकको मागसँगै सो गीत गाइरहेका छन् । गायक लिम्बु र ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा लोकप्रिय छ । यो गीतको स्टुडियो भर्सन सिनेमाको रिलिज घोषणापछि सार्वजनिक गरिनेछ ।
यो सिनेमाबाट अविशेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय रहेको सिनेमाको छायांकन सुसन प्रजापतिले गरेका हुन् ।
बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण भैरहेको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । विकास सुवेदीको पटकथा तथा संवाद लेखन रहेको सिनेमाको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ । यो सिनेमामा चार गीत छन् । यी सवै गीतमा स्वर गायक लिम्बुले नै छ । संगीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान छ । गीतको शब्द रचनामा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन् ।


प्रतिक्रिया