लन्डनमा ‘दोस्रो इन्फा सिनेमा अवार्ड २०२५’ सम्पन्न, उत्कृष्ट अभिनेत्री उपासना र पपुलर अभिनेता प्रदीप

लन्डनमा ‘दोस्रो इन्फा सिनेमा अवार्ड २०२५’ सम्पन्न, उत्कृष्ट अभिनेत्री उपासना र पपुलर अभिनेता प्रदीप

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार इन्टरनेसनल नेपाली सिनेमा अवार्ड (इन्फा) २०२५ को दोस्रो संस्करण सम्पन्न भएको छ ।

इन्फा इभेन्ट यूकेले आयोजना गरेको अवार्डस् समारोहमा सिनेमा ‘छक्का पन्जा ५’ले उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक (दीपाश्री निरौला), पब्लिक च्वाइस अवार्ड अभिनेता (दीपकराज गिरी), स्क्रिनप्ले र कोरियोग्राफी विद्यामा अवार्ड जितेको छ । गतवर्ष रिलिज भएका ५५ सिनेमामध्येबाट २७ विधामा अवार्ड दिइँदा लिड रोल मेल अवार्ड ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल एवं लिड रोल फिमेल अवार्ड सिनेमा ‘खुस्मा’बाट उपासनासिंह ठकुरीले जितिन् ।

उत्कृष्ट सम्पादन अवार्ड ‘आउट ल’ बाट साहिल खानले पाए भने उत्कृष्ट सिनेमाटोग्राफी ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानले जिते । एक्टर इन नेगेटिभ रोलको अवार्ड ‘पिताम्बर’बाट प्रमोद अग्रहरीले पाए । सर्पोटिङ रोल मेलतर्फ जीतु नेपाल (कार्साङ) ले जिते भने सर्पोटिङ रोल फिमेलतर्फ सृजना सुब्बा (अन्जिला) र ऋचा घिमिरे (तेल भिसा) ले पाए ।

डेब्यू एक्टर मेल अवार्ड ‘बर एण्ड बधु’बाट विवेक कर्मचार्य र डेब्यू एक्टर फिमेल सृजना निङ्लेखु (कार्साङ) ले पाएका छन् । बेस्ट एक्सन अवार्ड ‘आउट ल’बाट छुल्ठे काजी र श्री श्रेष्ठ, बेस्ट म्युजिक कम्पोजर थानेश्वर गौतम (अन्जिला), उत्कृष्ट गायनतर्फ पुरुष आशिष बराल (पूर्णबहादुरको सारंगी) र महिला शान्तिश्री परियार (खुश्मा-रुकुम मैकोट) ले पाए ।

स्पेसल मेन्सन मूभी अवार्ड ‘सतीदेवी’ र स्पेसल मेन्सन निर्देशकको अवार्ड कृषा चौलागाईंले प्राप्त गरेका छन् । ब्लकबस्टर अफ द इयर अवार्ड ‘पूर्णबहादुरको सारंगी’ले पाएको छ । इन्करेजमेन्ट अवार्ड दिव्या रायमाझी र सुमन भण्डारी एवं पपुलर अवार्ड प्रदीप खड्का (पिताम्बर) र स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली) ले प्राप्त गरे ।

विशेष योगदान सम्मान अभिनेत्री केकी अधिकारी र ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गरिएको छ । पब्लिक च्वाइस अवार्ड अभिनेत्रीतर्फ ‘ह्रस्वदीर्घ’बाट नीता ढुंगानाले पाइन् ।

जुरी अवार्ड मेल महेश त्रिपाठी (लाज शरणम), जुरी फिमेल दीया मास्के (कार्साङ) र निर्देशक अवार्ड मिलन चाम्स (अन्जिला) लाई प्रदान गरियो । कमेडी एक्टर अफ द इयर अवार्ड केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले पाएका छन् भने डायस्पोरा मूभी अवार्ड ‘तेल भिसा’ले प्राप्त गरेको छ । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा सिनेमा छनोट गरेका हुन् ।

कार्यक्रममा जीतु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र सीतादेवी तिमिल्सेनाले कमेडी प्रस्तुति दिए थिए भने दीपकराज गिरी र दीपाश्री निरौलाको नाच पनि दर्शकले रमाइलो माने । कविता नेपाली, तेरिया मगर, समर्पण लामा, एलिशा शर्मा, दीया मास्के र उषा उप्रेतीले गरेको नृत्य प्रस्तुति आकर्षक देखिन्थ्यो । रिहान गिरीले गायन प्रस्तुति दिए ।

मलिना जोशी र जीतु नेपालले रोचक पारामा कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ अभिनेता रमेश बुढाथोकीले नेपाली सिनेमाको प्रारम्भकालदेखि डिजिटल युग प्रवेश उल्लेख गर्दै हाल अन्तर्राष्ट्रिय बजारमा यसको पहुँचबारे बताए ।

समारोहमा गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासनासिंह ठकुरी, दिव्या रायमाझी, ऋचा घिमिरे, शंकर घिमिरे, फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा, मिलन चाम्स लगायत करिब तीन दर्जन उपस्थित थिए ।

नेपाली कलाकारको योगदान र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै सिनेमा विकास, प्रवर्धन र बजार विस्तारमा योगदान पुर्‍याउनु अवार्डको उद्देश्य रहेको इभेन्टका प्रमुख संयोजक उमेशराज मोक्तानले जनाए ।