द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले प्रेमीसँग इन्गेजमेन्ट गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् ।
उनले इन्स्टाग्राममा प्रेमीको प्रशंसा गर्दै लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’
साम्राज्ञीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ । यी तस्वीरमा उनीहरू रोमान्टिक अवतारमा देखिएका छन् । मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले भुवन केसीको डेव्यु निर्देशकिय सिनेमा ‘ड्रिम्स’बाट अभिनय करिअरको सुरुवात गरेकी थिइन् ।
यसपछि उनले ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’, ‘ह्यारी कि प्यारी’ लगायतका सिनेमामा अभिनय गरिसकेकी छन् । उनी चाँडै नयाँ सिनेमा ‘आहुती’कामा देखिँदैछिन् । यो सिनेमा यही वर्ष प्रदर्शनमा आउने जनाइएको छ ।


प्रतिक्रिया