द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक २१ ग्तेबाट प्रदर्शनमा आएको सिनेमा ‘मन बिनाको धन’ भोलि शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गर्दैछ । यो सिनेमालाई राष्ट्रिय दलित आयोगले पनि शुभकामना दिएको हो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारी गर्दै ‘मन बिनाको धन’लाई शुभकामना दिएको छ । लोकप्रिय बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको सिनेमाले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो ।
यो सिनेमाले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । आयोगले यो सिनेमामा सामाजिक चेतना अभिवृद्धि गर्ने क्षमता रहेको भन्दै निर्माण समूह तथा सम्बन्धित कलाकारलाई धन्यवाद दिँदै जातीय विभेदमुक्त समाज निर्माणमा टंक बुढाथोकी लगायतको टिमलाई अझै सफलताको शुभकामना छ ।
नेपालसँगै कतार, युएई र बहराइनमा सफलताको साथ प्रदर्शन भईरहेको सिनेमा ‘मन बिनाको धन’ मंसिर १३ गतेबाट अष्ट्रेलियामा पनि रिलिज हुँदैछ । नेपाली बक्स अफिसमा १३ दिनमा तिन करोड माथि कलेक्सन गरेको सिनेमालाई दर्शकले मन पराएका छन् । सिनेमा छिट्टै साउदी अरब, दक्षिण कोरिया र अष्ट्रेलिया लगायतका देशमा समेत प्रदर्शनमा आउँदै छ ।
राजधानी तथा मोफसलमा अशोक दर्जीसहितका कलाकारलाई भेट्दा दर्शक रुँदै अँगालो हालेको दृश्य देखिएको छ । दर्शकले अशोकलाई अँगालो हालेर रोएका भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । सर्लाहीमा सिनेमाका कलाकार अशोक दर्जी र अभिनेता रमेश विश्वकर्मा पुग्दा पन्चे बाजा बजाएर स्वागत गरिएको थियो । कलाकारलाई दुबोको माया सहित सिनेमा हलमा लगिएको थियो ।
सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मी, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मन बिनाको धन’को कथा उनी आफैले लेखेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा विष्णुमाया मैनाली निर्माता तथा कार्यकारी निर्माता मिनु शर्मा (सपना) र सह-निर्माता जीपी संग्रौला, बिबेक नेपाल र विजया पाण्डे छन् । टिकाराम बुढाथोकी सिनेमाका क्रियटिभ निर्देशक हुन् ।


प्रतिक्रिया