‘ऊनको स्वीटर’ प्रचारका लागि बुधवार सिक्किमको गान्तोकमा सुजनको सांगीतिक प्रस्तुति

‘ऊनको स्वीटर’ प्रचारका लागि बुधवार सिक्किमको गान्तोकमा सुजनको सांगीतिक प्रस्तुति

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भोली शुक्रबारबाट भारतका हलमा प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऊनको स्वीटर’को प्रचारका लागि बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी मार्गमा गायक सुजन चापागाईंले सांगीतिक प्रस्तुति दिएका छन् । ‘ऊनको स्वीटर साँझ’ नाम दिइएको कार्यक्रममा हजारौंको संख्या नेपाली भाषी दर्शकको उपस्थिति रहेको थियो ।

यो कार्यक्रममा गायक चापागाईंले ‘ऊनको स्वीटर’मा समावेश आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । उनीसँगै नेपालबाट गएका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, संगीत निर्देशक कोविद बज्र, छायांकार चिन्तन राजभन्डारी, कार्यकारी निर्माता मिलन खत्री र सागर बुढाथोकी कार्यक्रममा उपस्थित थिए ।

सिक्किम र दार्जिलिङ क्षेत्रका कलाकार समेत कार्यक्रमको आकर्षण बनेका थिए । अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा, सोनम ओङ्मु इथेन्पा लगायतले आफ्ना चर्चित गीतहरू गाएका थिए भने अमृता राईले सिनेमामा समावेश गीत ‘काफ्ले’मा नृत्य गरिन् । नेपालबाट गएका सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’ गीतमा प्रस्तुति दिए ।

‘ऊनको स्वीटर’ नोभेम्बर २१ अर्थात् शुक्रबारदेखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा प्रदर्शन हुँदैछ । भारतको केन्द्रीय सिनेमा प्रमाणीकरण बोर्डबाट सेन्सर पास भइसकेको सिनेमालाई एसली प्रोडक्सनले वितरण गर्दैछ । बिहीबार साँझ सिक्किममा सिनेमाको विशेष प्रिमियर शो आयोजना गरिएको छ ।

नेपालमा साढे ११ करोडको व्यापार गरेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । अन्तरजातीय प्रेमकथामा आधारित सिनेमाका ‘फूलहरू मुस्काउँछन्’, ‘मखमली’, ‘काफ्ले’, र ‘चाइनेजो जिन्दगानीमा’ गीत दर्शकमाझ लोकप्रिय छन् ।