द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता भुवन केसी निर्देशनमा निर्माण हुने सिनेमा ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै दोस्रो चरणको छायांकनमा निस्केको हो । ललितपुरस्थित च्यासलबाट छायांकन थालिएको सिनेमाको छायांकन तालिका ६० दिनको रहेको निर्मात्री जीया केसीले बताइन् ।
अभिनेता भुवन केसी ‘ड्रिम्स’ रिलिजको १० वर्षपछि निर्देशनमा पुनरागमन गर्दैछन् । अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने सिनेमामा अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र न्यान्सी खड्काले साथ दिनेछन् ।
निर्देशक समेत रहेका भुवन केसीको पनि अभिनय रहने ‘बाटुलो जून’मा प्रकाश घिमिरे, रेयर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछ ।
पहिलो चरणको छायांकन गत साउन गरिएको यो सिनेमा विशुद्ध परिवेशको प्रेमकथामा आधारिन रहने निर्देशक केसीले बताए । ‘यो सिनेमामा अनमोललाई फरक लूक्स र अवतार दर्शकले पर्दामा देख्न सक्नुहुनेछ, निर्मात्री जीया केसीले भनिन्, ‘नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीको आफ्नै कथा बन्नेमा हामी विश्वस्त छौं ।’
सनराइज पिक्चर्स ब्यानरको ‘बाटुलो जून’ निर्माणमा जीयासँग भविष्य खड्काले साझेदारी गरेकी छन् । उनी पछिल्लो हिट सिनेमा ‘जेरी अन टप’की निर्मात्री हुन् । सिनेमा लगानीबारेको प्रश्नमा खड्काले राम्रो र उत्कृष्ट सिनेमा निर्माणको लागि कुनै सम्झौता नहुने बताइन् ।
अभिनेता अनमोल केसीले बुवा भुवन केसीले ‘चिनो’, सम्झना’ र ‘कुसुमे रूमाल’जस्ता सिनेमामा निभाएको भुमिका र सोही सिनेमामा देखिएको लूक्समै आफुलाई पाएको भन्दै बुवाकै झल्को दिने प्रयास हुने बताए । यो सिनेमामा बोलिने संवाददेखि क्यारेक्टरमा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफुले पनि पात्रलाई न्याय गर्नेमा विश्वस्त देखिए ।
अभिनेत्रीद्वय प्रिन्सी र न्यान्सीले अनमोलको फ्यानको रूपमा परिचित गराउँदै एकसाथ स्कृन सेयर गर्न पाउनुलाई गर्व र सिकाइको अवसरको रूपमा लिएको बताए । यो सिनेमालाई काठमाडांै, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिनेछ ।
तेजबिक्रम केसी कार्यकारी निर्माता रहेको सिनेमाको लेखक सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल हुन् । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक तथा बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको सिनेमामा छायांकन राजेश श्रेष्ठको रहनेछ । सिनेमाका गीतमा निर्देशक समेत रहेकी रेनशा वान्तवा राईको कोरियोग्राफी रहनेछ ।






प्रतिक्रिया