फागुन २९ बाट जीवन शाहीको ‘स्त्री’ देशब्यापी प्रदर्शन मिति घोषणा

फागुन २९ बाट जीवन शाहीको ‘स्त्री’ देशब्यापी प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘स्त्री’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको हो । यो सिनेमाको रिलिज घोषणासँगै शीर्षक डिजाइन सार्वजनिक गरिएको छ ।

सामाजिक कथामा तयार भइरहेको सिनेमामा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । बालकलाकार दिप्सन चिलवाल पनि सिनेमामा देखिनेछन् । सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीको ‘स्त्री’ डेब्यु निर्देशकिय सिनेमा हो ।

निर्माता समिर राईका अनुसार सिनेमाको हाल पोस्ट-प्रोडक्सनको काम चलिरहेको छ । नारी-केन्द्रित कथामा निर्माण भएको ‘स्त्री’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ । यो सिनेमाको सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन् ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको लगानी रहेको सिनेमामा निर्देशक शाहीकै कथा छ । पटकथा लेखनमा उनलाई किशन अर्यालले सहयोग गरेका छन् । सिनेमामा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह-निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन् ।

सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।