लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ४० दिनमा प्याकअप, बैशाख ११ बाट देशव्यापी प्रदर्शनमा आउने

लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ ४० दिनमा प्याकअप, बैशाख ११ बाट देशव्यापी प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘परालको आगो’को छायांकन ४० दिनमा सकिएको छ । दशैं अगाडी नै म्याग्दीको विभिन्न स्थानबाट छायांकन सुरु भएको सिनेमाको छायांकन मंगलबार प्याकअप भएको हो ।

सुशिल पोखरेलको लगानी रहेको सिनेमाको छायांकन सकिएसँगै तीन फरक लुक्ससहित प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो सिनेमा आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता पोखरेलले बताए । ‘मैले अरु सिनेमा प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । सवैका सिनेमा पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो सिनेमा रिलिज गर्ने तयारीमा छु ।’

साथी भाईको सिनेमालाई सम्मान गर्दै आफ्नो डेटमा अन्य सिनेमा नजुधाई दिन समेत निर्माता पोखरेलले आग्रह गरेका छन् । ‘एकैचोटी धेरै सिनेमा हलमा लाग्दा निर्माता तथा हल ब्यावसायीहरुको पनि धेरै नोक्सानी हुन्छ । ग्यापमा आउँदा निर्माता र हल दुवैपक्षलाई फाईदा होस भन्ने सोचले सवै मेजर डेट छोडेर बैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु’, उनले भने ।

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण भएको सिनेमामा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार एन्जिला बानियाँको अभिनय रहेको छ ।

सुशील देवकोटाको लेखन रहेको सिनेमामा सुरेन्द्र रानाको, मनबहादुर मुखिया र प्रकाश सपुत शब्द रचना तथा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत छ । सिनेमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् ।

आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको ओटीटी र डिजिटल राइट्स ओएसआर डिजिटलले किनेको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ बनाइएको हो । यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि सिनेमा निर्माण तथा निर्देशन गरेका थिए ।