द सिनेमा टाइम्स, काठमाडौं । ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले सिनेमा ‘सिन्दुरे जात्रा’ निर्माण घोषणा गरेका हुन् ।
निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत सिनेमा निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको शिर्षक मात्रै देख्न सकिन्छ । ‘सिन्दुरे जात्रा’को मन्त्र पढेजस्तो आवाज रहेपनि के भनेको हो त्यो भने बुझिँदैन ।
सिनेमामा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित सिनेमा हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।
सारंगी फिल्मस्को प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । सिनेमामा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल हो । सिनेमा कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।
केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।
ब्लकबस्टर निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ ।


प्रतिक्रिया