द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी मंसिर २० गते उनले प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरूको विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फर्च्युनमा हुनेछ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य र सिनेमाकर्मीको उपस्थिति रहने बताइएको छ ।
पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सिनेमा ‘म यस्तो गीत गाउँछु २’ रिलिजको बेला उनले आफ्नो प्रेम सम्बन्धबारेमा खुलासा गरेकी थिइन् । युद्धले औँठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । उनीहरूले संयुक्त रूपमा ४ करोडभन्दा बढीको लगानीमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन् ।
पूजाले दशैंभन्दा अगाडि सिनेमा ‘३६ को आँकडा’को छायांकन सकाएकी थिइन् । उनी नयाँ एक्सन सिनेमा ‘एक्का तीन’ र ‘महादशा’मा काम गर्ने तयारीमा छिन् ।


प्रतिक्रिया