द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । सिनेमाको मध्यपूर्वसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।
युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ । दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेको सिनेमा ‘मिरमिरे’को यसअघि दुईवटा पोस्टर सार्वजनिक भएका थिए । जसमा सिनेमाका मुख्य कलाकार प्रस्तुत छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ । यो दयाहाङ र प्रकाशको पहिलो सहकार्य हो । ‘मिरमिरे’को निर्देशनसँगै कथा पनि यम स्वयंको लेखन छ । सिनेमाको छायांकन आलोक शुक्लाले गरेका हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर तथा कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको सिनेमाको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।



प्रतिक्रिया