द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालको शीर्ष भूमिका रहेको सिनेमा ‘बिगुल’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार पोस्टर सार्वजनिक गर्दै आगामी माघ ९ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।
रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमामा कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको लगानी छ । सार्वजनीक तीन पोस्टरमध्ये एकमा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी छन् । दोस्रो पोस्टरमा बेनिशासहित नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित भावमा देखिएका छन् ।
अर्को एक पोस्टरमा सबै कलाकार फिचर्ड छन् । ‘बिगुलमा हामीले उठाएको मूल मुद्दा र पछि जेन्जी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको छ,’ निर्माता कोइराला भन्छन्, ‘त्यसकारण यो सिनेमामा हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं ।’
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा नरेन र बेनिशासहित नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्माको पनि अभिनय छ । अभिनेता रविन्द्र खड्काको विशेष भूमिका रहेको सिनेमाको निर्माता कोइरालाको कथा, प्रदीप भारद्धाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद लेखन छ ।
शिव ढकालको छायांकन रहेको सिनेमामा कमल राई र कविराज गहतराको कोरियोग्राफी, एनबी महर्जनको द्धन्द्व निर्देशन, अर्जुन पोखरेल, मनोज चौलागाई र विश्वप्रकाश शर्माको संगीत, कुनाल कुमारको कलर र तारा थापा ‘किम्भे’को सम्पादन छ ।


प्रतिक्रिया