द सिनेमा टाइम्स, काठमाडौं । जोन योञ्जनको निर्देशन निर्माण हुने सिनेमा ‘रोल नंं १’को छायांकन सुरु भएको छ । काठमाडौंमा दुई हप्ता लामो वर्कसप सकेपछि निर्माण टिम छायांकनमा निस्किएको हो ।
सिनेमाको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेड्युल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए । सिनेमाको मुख्य भूमिकामा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् ।
निर्देशक योञ्जनको नै कथा रहेको ‘रोल नंं १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा निर्माण हुनेछ । सवैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फस्र्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो सिनेमाले उठाउनेछ ।
यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् । महेश दवाडीको पटकथा तथा संवाद रहने सिनेमामा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमाको निर्माता विनोद पौडेल र गुञ्जन गिरी तथा कार्यकारी निर्माता रमेश चौलागाई हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा फिरोज खड्का, प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेडमा मनोज जोशी र मदन घिमिरेको सम्पादन रहनेछ ।
निर्माता पौडेलको निर्माण रहेको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ आगामी शुक्रबार अर्थात् मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।



प्रतिक्रिया