द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । सोमबार ललितपुरस्थित एक हलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्नेका सिनेमाकर्मीले ‘अभिमन्यु’लाई सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
सिनेमाको सरप्राइजिङ स्टोरी र अभिनयको तारिफ गरेका थिए । यो सिनेमाको प्रिमियरमा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने बताए । कौतुहलता सिर्जना गर्ने कथा सिनेमाको बलियो पक्ष भएकाले कलाकारको कामले थप बलियो बनाएको प्रतिक्रिया उपस्थित निर्देशक, कलाकार तथा निर्माताले दिएका हुन् ।
यो सिनेमाको प्रिमियर शोमा मेकिङ पक्षको प्रशंसा गर्दै सिनेमाकर्मी ले निर्माता विनोद पौडेलको आँटको कदर गरेका थिए । उनले ‘पूर्णबहादुरको सारङ्गी’मा जस्तै यसमा पनि ‘अन्डररेटेड’ कलाकारलाई लिएर काम गरेका छन् । बजारमा चलेका स्टार कलाकार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गरेका छन् । यसको प्रतिफल ‘अभिमन्यु’मा देखिन्छ ।
कमेडीयन भरतमणी पौडेलले सिनेमाले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए । सिनेमा ‘अभिमन्यु’ आगामी बिहीबारबाट रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सिनेमाको प्रिमियरपछि मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासँग भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’
अभिनेता किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर १’मा अनुभवी र दिग्गज कलाकारसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । तपाईले त सोचेभन्दा राम्रो काम गर्नुभएछ नि ? भनेर सोध्दा मुस्कुराउँदै स्वीकार गरेर आफ्नो भूमिकाप्रति सन्तुष्टि जनाए । आफूले गरेको मिहिनेत पर्दामा राम्रो देखिएकोमा खुसी व्यक्त गरेका छन् ।
अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो सिनेमाको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन् । ‘स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि सिनेमाको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् । सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा सिनेमा हेर्दा अझ राम्रो बनेको पाएँ,’ उनले भनिन् ।
अभिनेत्री सरिता गिरीले पुरुष प्रधान सिनेमाहरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित सिनेमा बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यो सिनेमामा मुकेश खनालको लेखन रहेको छ ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता तथा रमेश चौलागाई, हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ अनि लाइन प्रोड्युसरमा जीवन शाक्य हुन् ।
शरद महतो डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ । यो सिनेमा नेपाली र हिन्दी भाषामा नेपालसहित विश्वव्यापी प्रदर्शनमा हुँदैछ ।





प्रतिक्रिया