द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक पोस्टरमा सिनेमाका सवैजसो कलाकारलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ । घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र ‘परिवर्तन’का लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ ।
अञ्जना बराइली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन् । उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्ंकाउँछ । त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ ।
पोस्टरले विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ । एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको सिनेमाको वास्तविक कथा भने टिजर, ट्रेलर र सिनेमा नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको दाबी छ ।
विजय केरुङले निर्देशन गरेको ‘परिवर्तन’मा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन् । दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
सिनेमाका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन् । ट्रेलर पनि उनीकै सम्पादनमा तयार भइरहेको निर्माण टिमले बताएको छ । सिनेमामा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ ।
आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को डिजिटल साझेदार ओएसआर र वितरण आरआर फिल्म्सले गर्दैछ ।



प्रतिक्रिया