द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘द ब्ल्यू लाइट’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको बिहीबार सार्वजनिक पोस्टरमा मुख्य तीन कलाकार फिचर्ड छन् ।
तीन कलाकार रहेपनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशा तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।
सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिग्रेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा देखिएकी छन् । हातका पाँचवटै औंलामा औंठी छ । एउटै औंलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।
अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । जहाँ उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ । बाल कलाकार ग्रिष्मा कटुवाललाई पनि पोस्टरमा देखिन्छ । उनी आँखाभरि आँसु बनाएर रोइरहेकी छन् ।
सार्वजनिक पोस्टरमा निलो लाइट छ । यो कलरले सिनेमाको नामको टोन दिने प्रयास गरेको छ । पोस्टरले आशा र निराशा वा उताचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ । बलिराम चौहानको निर्देशन रहेको छ । उनको यो डेब्यु निर्देशन हो ।
सिनेमामा बेनिशा र ग्रिष्मासहित अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । सिनेमाको बाल कलाकारमा साहारा शर्मा पनि छिन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको सिनेमाको कार्यकारी निर्मातामा अभिनेत्री बेनिशा हमाल र छायांकार नरेन्द्र मैनाली छन् ।
स्काइफल पिक्चर्स प्रस्तुत ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरमा भोलानाथ कटुवाल र रमन ग्रे छन् । सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक छन् ।



प्रतिक्रिया