द सिनेमा टाइम्स, काठमाडौं । ‘होस्टेल रिटर्न्स’बाट पिके डनको रूपमा परिचित अभिनेता प्रदीप कुमार चौधरीले ‘तरङ्ग’बाट निर्देशनमा डेव्यु गर्दैछन् । यो सिनेमाबाट मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारीले पनि ठूलो पर्दामा डेब्यू गर्ने भएका हुन् ।
अभिनेता चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘तरङ्ग’बाट मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुणले पहिलो पटक फिचर सिनेमामार्फत दर्शकमाझ आउने भएसँगै उत्साहित देखिएका छन् ।
सिनेमाको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरङ्ग’मा जोडिएको बरुणले बताए । ‘मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,’ उनले भने । आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।
मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । सिनेमाको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् । सुपरन्याचुरल लभस्टोरी जनरामा तयार हुने ‘तरङ्ग’को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।
यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ । करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको सिनेमाको मुख्य भूमिकामा बरुणसहित रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।
सिनेमाका छायाकार महेश पौडेल तथा निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् । खलनायकको भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आवद्ध छन् । उनी पछिल्लो पटक सिनेमा ‘वरिष्ठ बलराम’मा देखिएका थिए । यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।


प्रतिक्रिया