द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’बाट अष्ट्रेलियामा अध्ययन तथा मोडलिङ गर्दै आएका सुरज पौडेल नेपाली रजतपटमा डेब्यु गर्दैछन् । मंसिर २६ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने यो सिनेमाको कथा आफ्नो जीवनसँग मिल्ने बताए ।
यो सिनेमाको प्रचारका लागि हाल नेपालमा रहेका डेवयु अभिनेता पौडेलले निर्देशक शोभित बस्नेतकी छोरी सलिनामार्फत सिनेमामा जोडिएको खुलाए ।
‘अष्ट्रेलियामा शोभित बस्नेत सरले यो सिनेमाका लागि अडिसन लिइरहनुभएको थियो । उहाँकी छोरी सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेकाले सहभागी हुन सुझाव दिइन् । अभिनय गर्ने मन त पहिलेदेखि नै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ,’ उनले भने ।
सुरजका अनुसार सलिनासँग उनको भेट सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको दौरान भएको हो । त्यहीँबाट उनीहरू राम्रो साथी बनेका हुन् । सलिनाबाट अडिसनबारे थाहा पाएपछि मैले शोभित सरलाई म्यासेज गरी अडिसनको स्थान र समयबारे सोधेँ । उहाँले बोलाउनुभयो ।
‘वान-लाइन अडिसनपछि उहाँले ‘के छ त तिम्रो बिचार ?’ भनेर सोध्नु भयो । अष्ट्रेलियामा समय व्यवस्थापनको कुरा मनमा थियो, तर उहाँले ‘अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर’ भन्नुभयो । उहाँको सुझावले धेरै आत्मविश्वास दिलायो,’ उनले भने ।
सिनेमाको स्क्रिप्ट एकरातमै पढिसकेछन् । ‘पढेपछि कास्टमा जोडिनुपर्ने नै लाग्यो । कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ । अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ,’ उनले खुलेर भने, ‘स्क्रिप्टमा समाजमा सन्देश दिने गहिरो कन्टेन्ट छ । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा देखिन्छ । यो विषय बोलिनै पर्ने लागेर सिनेमामा जोडिने निर्णय गरेँ ।’
शोभित बस्नेतजसँग काम गर्दा धेरै सहज भएको सुरजको भनाई छ । ‘उहाँले सिनेमा क्षेत्रमा कमाएको अनुभवका आधारमा हामीलाई सहज वातावरण दिनुभयो । अरु कसैसँग भएको भए यति सहज हुने जस्तो लाग्दैन,’ सरोजले भने, ‘डेढ महिनाजति वर्कसप गरेर मात्रै फ्लोरमा गएका हौँ । वर्कसपले क्यारेक्टरमा बस्न, संवाद बुझेको अनुसार प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्यो ।’
निर्देशक शोभितले सवै कलाकारको समय हेरेर सुटिङ तालिका मिलाइदिएकाले सुटिङ गर्न सहज भएको उनी बताउँछन् । ‘अष्ट्रेलियामा भएपनि काम आयो भने नेपाल आउन मलाई समस्या हुँदैन । ‘पीआर’का हुँदा म नेपाल आएर काम गरेर फर्किएको हुँ । ‘पीआर’ पछि पनि दर्शकले मलाई अन्य सिनेमामा देख्न पाउनुहुनेछ,’ उनले भने ।
सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । यो सिनेमामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई विशेष भूमिकामा देख्न सकिन्छ ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा सौरभ सायमी र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन, मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी छ । रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुतीमा निर्माण भएको सिनेमामा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी छ ।


प्रतिक्रिया