द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरिरहेको सिनेमा ‘मालती मंङ्गले’को छयांकन अन्तिम चरणमा पुगेको छ । यो वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी भैरहेको सिनेमाको बाँकी रहेका दुई गीत मध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’को छायांकन अहिले भइरहेको छ ।
एसडी योगीको संगीत रहेको यो गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर तथा हर्क साउदको शब्द रचना छ । रिकेश गुरुङले एरेञ्ज गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल र वर्षा राउत रोमान्टिक अवतारमा देखिनेछन् । जहाँ उनीहरू क्लासिक बलिउड लुकमा रहेका छन् । यसको कोरियोग्राफी रोशन बिकेले गरेका हुन् ।
यो गीतको छायांकन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमवार काठमाडौंको जर्सिङ पौवामा भइरहेको छ भने मंगलवार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ । निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायांकन बाँकी छ । जसपश्चात सिनेमाको सम्पूर्ण छायांकन पूर्ण हुनेछ ।
रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको सिनेमाका निर्माता रामकृष्ण ढकाल तथा सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् । प्रकु पाण्डेयको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमाको कथा उनी स्वंयम्को भएपनि पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।
सिनेमामा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय छ ।



प्रतिक्रिया