द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘पीआर’बाट विदेशमा बस्दै आएकी कलाकार बिनिता कार्कीले मुख्य भूमिकामा डेब्यू गर्दैछिन् । मंसिर २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको प्रचारका लागि हाल उनी नेपाल आएकी छन् । अष्ट्रेलिया पुगेका नेपाली युवाको कथालाई केन्द्रमा राखेर निर्माण भएको यो सिनेमामा अभिनय गर्न पाउँदा उनी उत्साहित छिन् ।
बिनिताका अनुसार सानै उमेरमा रेखा थापा, झरना थापा र निरुता सिंहको अभिनय हेरेर उनी अभिनेत्री बन्ने सपनासहित हुर्किएकी थिइन् । उहाँहरूको नक्कल गर्दै-गर्दै आज म आफैँ सिनेमामा खेल्दैछु । निर्देशक शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’मा मुख्य भूमिकामा अवसर पाइएपछि उनी आफ्नो बाल्यकालको सपना पुरा भएको बताउँछिन् ।
बिनिताको भनाइमा, सिनेमा ‘पीआर’मा उनी फेसबुकमार्फतै जोडिएकी हुन् । ‘एक दिदीले फेसबुकमा मेन्सन गरिदिनुभयो । त्यसपछि अडिसनबारे थाहा पाएँ र सहभागी भएकी थिए । अडिसनमा छानिए पनि अन्तिम निर्णयका लागि निर्देशक बस्नेतले इन्टरभ्यु लिएका रहेछन् । इन्टरभ्युपास भएपछि मात्र उनी सिनेमामा अनुबन्धित भइन् ।
सन् २०१८ तिर नेपालमै मोडलिङ सुरु गरिएकी बिनिता अष्ट्रेलिया गएपछि केही समय त्यति सक्रिय हुन सकिनन् । तर सिनेमामा काम गर्ने सपना भने कहिल्यै हराएन । अभिनय औपचारिक रूपमा नसीकेकी उनी निर्देशन राम्रो भए अभिनय सहज हुने बताउँछिन् ।
‘पीआर’ सफल भए नेपालको सिनेमा क्षेत्रमा नै करिअर बनाउने योजना उनले अघि सारेकी छन् । सिनेमा हेरेर दर्शकको प्रतिक्रिया सुन्न आतुर छु । सिनेमा ‘पीआर’को गीत र ट्रेलरले राम्रो चर्चा पाइरहेको छ । अभिनेत्री कार्कीले सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छन् ।
सिनेमामा अभिनेत्री कार्कीसहित आरए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको सिनेमामा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी छ । बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको ट्रेलर पनि उनले नै तयार पारेका हुन् । सिनेमाको कथा गणेश बुढाथोकीले लेखेका हुन् । सौरभ सायमी र सौरभ लामाले छायांकन गरेको सिनेमाका गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर सुन्न सकिन्छ ।


प्रतिक्रिया