द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘गोबर गणेश’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको मंगलबार सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र बल्छी धुर्बेलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।
सार्वजनिक पोस्टरमा वर्षा रिक्सा चलाइरहेको रिक्सामा बल्छी धुर्बे प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतित हुन्छ । यो पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर र उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर शहर जस्तो देखिन्छ ।
पोस्टरमा कलर टोनजस्तो देखिने हरियो रङ छन् । यसले पोजेटिभ स्टोरी सिनेमाले भन्ने संकेत गरेको छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन् । ‘गोबर गणेश’को छायांकन सकेर अहिले पोस्टप्रोडक्सनमा छ । डेव्यु निर्देशक श्रेष्ठले ‘गोबर गणेश’लाई सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको सिनेमामा बल्छी र वर्षासहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा सिनेमाको वितरण श्री ब्याकंटेस इन्टरटेनमेन्टले गर्नेछ ।



प्रतिक्रिया