महानायक राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शनमा आउने

महानायक राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन १५ देखि महानायक राजेश हमाल अभिनित सिनेमा ‘प्रवासी जीवन’ नेपालभर प्रदर्शनमा आउने भएको छ । नेपालबाट उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संर्घषसहितको प्रवासी जीवनको कथा बोल्ने सिनेमालाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

प्रवासीको सुखदुःख, आरोह अवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर सिनेमा तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर तयार परेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न सिनेमा फलदायी हुने दाबी निर्देशक क्षेत्रीको छ ।

श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको प्रस्तुती तथा सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्यमा निर्माण भएको सिनेमामा महानायक हमालसहित सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारी र स्वयंम् निर्देशक क्षेत्रीको अभिनय छ ।

अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायांकन गरिएको सिनेमाको निर्मातामा रविन आचार्य छन् । उनले ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा सिनेमा निर्माण गरेका छन् । यो सिनेमाको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो । निर्माता आचार्यले अभिनेता हमाल सिनेमासँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए ।

सिनेमाको सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ, ‘एञ्जाइटी’ र ‘थेरापी’ जस्ता शब्दले सिनेमाको विषयलाई संकेत गरेको छ । फिल्मको कथा, पटकथा तथा संवाद स्वयंम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

सिनेमामा अमृत बिसुवाको छायांकन, राम अधिकारीको सम्पादन, सुवास सिन्चुरीको पाश्र्व संगीत, देवी खतिवडाको मेकअप, राज शंकर र प्रतिक सार्कीको ध्वनी मुद्रण, नवीन कार्कीको संगीत तथा प्रमोद खरेल र प्रतापको स्वर छ । आरआर फिल्मस्ले सिनेमालाई देशव्यापी वितरण गर्नेछ ।