अभिषेक र आकृतिको रोमान्टिक अवतारमा ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

अभिषेक र आकृतिको रोमान्टिक अवतारमा ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रणय दिवसको अवसर पारेर आगामी माघ २३ गते रिलिज हुने लभस्टोरी सिनेमा ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् ।

सौम्य तथा क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको संकेतको रूपमा सेतो टोन र प्रेमको तरङ्ग बुझाउने वेभहरू प्रयोग गरिएको छ । अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु प्रेमकथामा केन्द्रित बुझिन्छ । यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

सिनेमाको यो पोस्टर सार्वजनिकसँगै नयाँ गीत ‘तिमी बिना’को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो गीत पुस ३ गते सार्वजनिक गरिनेछ । यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल’को सफलताले नयाँ गीतप्रति दर्शकको चासो बढ्ने अपेक्षा छ । गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वर रहेको यो गीत ‘जेनजी’ पुस्तामाझ लोकप्रिय छ ।

दिनेश राउत निर्देशित सिनेमा भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले सिनेमाले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । सिनेमामा अभिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतका कलाकारको अभिनय छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । केदार भुसाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा, पटकथा तथा संवाद विकास सुवेदीले लेखेका छन् । सुसन प्रजापति छायांकन निर्देशन रहेको सिनेमामा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।