बनेपामा निर्माणाधिन आधुनिक इन्डोर सिनेमा स्टुडियोका लागि दोस्रो चरणको बोलपत्रमा ११ निर्माण कम्पनी योग्य

बनेपामा निर्माणाधिन आधुनिक इन्डोर सिनेमा स्टुडियोका लागि दोस्रो चरणको बोलपत्रमा ११ निर्माण कम्पनी योग्य

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बनेपामा निर्माणाधिन आधुनिक इन्डोर सिनेमा स्टुडियोका लागि चलचित्र विकास बोर्डद्धारा आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रिया अन्तर्गत ११ वटा निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा योग्य देखिएका छन् । विकास बोर्डका अनुसार योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ ।

नेपाली सिनेमा उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यो परियोजनाका लागि बोर्डले १६ करोड ४९ लाख ८७ हजार १ सय ९२ रुपैया लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई-बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो ।

प्राविधिक चरणमा प्राप्त बोलपत्रमध्ये आवश्यक योग्यता, अनुभव, प्राविधिक क्षमता, मानव स्रोत तथा वित्तीय विश्वसनीयताको आधारमा विस्तृत मूल्यांकन गरी ११ कम्पनी छनोट भएका हुन् । यी कम्पनीको आर्थिक प्रस्ताव बोर्डको कार्यालयमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ज (उपनियम ५) बमोजिम सार्वजनिक रूपमा खोलिने बोर्डले जनाएको छ ।

आर्थिक प्रस्तावको मूल्यांकन पश्चात सबैभन्दा कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बनेपामा निर्माण भैरहेको यो इन्डोर सिनेमा स्टुडियो नेपाली सिनेमा उद्योगका लागि महत्वपूर्ण र रणनीतिक पूर्वाधारका रूपमा हेरिएको छ ।

यो स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छायांकन, मौसम-निरपेक्ष सुटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सिनेमाको निर्माण लागत घटाउने, समय बचत गर्ने र विदेशी स्टुडियोमा निर्भरता कम गर्ने विश्वास बोर्डको छ ।

बोर्ड अध्यक्ष दिनेश डिसीका अनुसार ‘इन्डोर स्टुडियो सञ्चालनमा आएपछि नेपाली सिनेमासँगै टेलिभिजन सिरियल, वेब–सिरिज, विज्ञापन तथा अन्तर्राष्ट्रिय सह-निर्माणका लागि समेत सहज वातावरण सिर्जना हुनेछ । चलचित्र विकास बोर्डले यो परियोजनालाई नेपाली सिनेमा उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जानकारी दिएको छ ।