द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’ आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा देशव्यापी प्रदर्शनमा आउँदैछ । टिजर र पोस्टर सार्वजनिक भैसकेको यो सिनेमामा अभिनेता दयाहाङ राईका लागि गजवको संयोग जुरेको छ ।
त्यो संयोग हो, श्रीमान् हिरो र श्रीमती गायिका । यो सिनेमामा अभिनेता दयाहाङ राईकी श्रीमती तथा गायिका बेनुका राईले एक गीतमा आवाज दिएकी छन् । उनले केही दिनअघि गीत रेकर्ड गरेकी हुन् । बेनुका कुनै समयकी चल्तीकी गायिका समेत हुन् । तर, दयाहाङसँग विवाह बन्धनमा बाँधिएपछि गायनमा उनको सक्रियता घटेको थियो ।
बेनुकाले पछिल्लो पटक ‘साइबा’ बोलको गीत गाएकी थिइन् । ‘मिरमिरे’मार्फत पाश्र्व गायनमा डेब्यु गरेकी उनले सिनेमाको कथावस्तु झल्काउने गीत गाएको जनाइएको छ । यो गीतमा पछिल्लो समयका सफल गीतकार हर्क साउदको शब्द रचना र मनोज थापा मगरको संगीत रहेको छ ।
बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने सिनेमामा यम शेर्पाको लेखन तथा निर्देशन छ । यो सिनेमामा दयाहाङसहित प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायतको अभिनय रहेको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, भुपेन्द्र अधिकारी र निमेष श्रेष्ठको सम्पादन तथा प्रकाश सपूत र मनोज थापा मगरको संगीत रहेको छ । यो सिनेमाका निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा तथा सहनिर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर अनि कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् ।


प्रतिक्रिया