द सिनेमा टाइम्स, काठमाडौं । पौष ४ अर्थात् आज शुक्रबारबाट हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमा ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । स्टारकास्ट र गीत-ट्रेलरले दर्शकलाई आकर्षित गरेकाले सिनेमाले बक्सअफिस सुखद सुरुवात गरेको हो । ह
लिउड सिनेमा ‘अवतार ३’का कारण अपेक्षित शो नपाए पनि बिहानीको शोमा दर्शक अकुपेन्सी राम्रो रहेको निर्देशक पाँडे बताउँछन् । बिहानी शोमा नै दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले शो थपिदै जाने विश्वास निर्माण टिमको छ ।
यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।
सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।


प्रतिक्रिया