द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको शोभित बस्नेत निर्देशित सिनेमा ‘पिआर’ ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । हिजो बिहीबार सिनेमाका निर्देशक बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो । निर्देशक बस्नेतका अनुसार पुस १० गते क्रिसमस डेबाट ओटीटीमा रिलिज हुँदैछ ।
निर्देशक बस्नेत हलमा सिनेमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्मको सुविधा प्रदान गरिएको बताउँछन् । ‘सबै ठाउँमा सिनेमा हल छैन । कतिपयले सिनेमा हल नभएपछि हेर्न नपाएको गुनासो गरिरहनुभएको थियो,’ निर्देशक बस्नेतले भने, ‘सोही अनुसार हामीले डिजिटल प्लेटफर्म एमएसएम भिडियोमार्फत सिनेमा रिलिज गर्न लागेका हौं ।’
सिनेमाको प्रिमियर तथा हलमा प्रदर्शन हुँदा सिनेमालाई मिश्रित प्रतिक्रिया मिलेको थियो । प्रिमियर शोमा यो सिनेमा चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी, सफल निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दना लगायतले सिनेमाको प्रशंसा गरेका थिए ।
नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरुको समपना स्थायी आवासीय पत्र (पीआर) प्राप्तीका लागि गर्ने संघर्षको कथालाई सिनेमाले देखाउँछ । यो सिनेमाको अधिकांश सुटिङ अष्ट्रेलियामा गरिएको छ । नेपालमा समेत सुटिङ गरिएको यो सिनेमाले नेपालमा रहेका बुबा र आफन्तले हेरेपछि विदेश पुगेका आफ्ना सन्तानको अवस्थालाई मनन् गर्न बाध्य पार्ने बताए ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुतीमा निर्माण भएको सिनेमामा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी छ । सिनेमामा सौरभ सायमी र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन, मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।


प्रतिक्रिया